|  

गत वर्ष कर्जा प्रवाह १३ प्रतिशतले बृद्धि 

१ भदौ, काठमाडौं । गएको आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १३ दशमवल १ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक वित्तीय विवरण अनुसार अघिल्लो वर्ष यस्तो कर्जा २७ दशमलव ३ प्रतिशतले बढेको थियो ।

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव ३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ६३ दशमलव ६ प्रतिशत र ३६ दशमलव ४ प्रतिशत रहेको थियो ।

गएको आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२ दशमलव ७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १३ दशमलव ९ प्रतिशतले र वित्त कम्पनीहरुको २९ दशमलव ८ प्रतिशतले बढेको छ । यस्तै, असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६ दशमलव ४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९ दशमलव ७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव ७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३ दशमलव ३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८ दशमलव ७ प्रतिशतले बढेको छ ।

गएको आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८ दशमलव ४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ दशमलव ३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५ दशमलव २ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १ दशमलव ५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१ दशमलव ९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४ दशमलव ३ प्रतिशतले र हायर पर्चेज कर्जा २ दशमलव २ प्रतिशतले घटेको छ ।