|  

अनुमति विना नै कक्षा सञ्चालन 

१ भदौ, काठमाडौं । वीरेन्द्रनगर-७ स्थित नेपाल प्रहरी स्कुलले अनुमति विना नै कक्षा संचालन गरेको पाइएको छ ।

सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरूका लागि स्थानीय तहबाट विद्यालय सञ्चालनका लागि अनुमति प्राप्त गर्नुपर्ने हुन्छ । तोकिएको विवरण खुलाई वडा शिक्षा समितिको सिफारिससहित नगर शिक्षा प्रमुख समक्ष अनुमतिका लागि निवेदन दिनुपर्ने वीरेन्द्रनगर नगरपालिकाको शिक्षा ऐनमा उल्लेख छ ।

विद्यालय खोल्न अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिना अगावै निवेदन दिनुपर्ने उल्लेख छ । पूर्वप्राथमिक विद्यालय तथा कक्षा थप गर्न चाहने विद्यालयहरूले भने शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिना अगावै नगरपालिकाको शिक्षा प्रमुख समक्ष निवेदन दिनुपर्ने ऐनमा व्यवस्था छ । तर, वीरेन्द्रनगर-७ स्थित नेपाल प्रहरी स्कुल भने अनुमति विना कक्षा सञ्चालन गराई रहेको छ । विद्यालयसँग चार कक्षासम्म मात्र सञ्चालनको अनुमति प्राप्त छ । तर यस विद्यालयले भने हाल कक्षा ६ सम्म पठनपाठन गराई रहेको छ ।

सामुदायिक वा संस्थागत विद्यालय सञ्चालनका लागि स्थानीय तह एक मात्र निकाय हो जसले कक्षा सञ्चालनको अनुमति दिने गर्दछ । तर वीरेन्द्रनगर नगरपालिकासँग भने प्रहरी स्कुलले चार कक्षासम्म मात्र अनुमति लिई ६ कक्षासम्म अध्यापन गराई रहेको हो ।

अनुमति विना नै कक्षा सञ्चालन गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि विद्यालयले नै खेलबाड गरिरहेको शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरूको आरोप छ । अवैधानिक रूपमा सञ्चालनमा रहेका कक्षाले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलता तर्फ धकेको छ । वर्ष भरी अध्ययन गर्ने तर अध्ययनको वैधानिकता नभएपछि विद्यार्थीको सो आर्थिक वर्ष यत्तिकै खेर जान सक्छ । अर्को कक्षा अध्ययनका लागि उनीहरूसँग कुनै औपचारिक कागजपत्र नै हुँदैन ।

नेपाल प्रहरी स्कुल मात्र नभई वीरेन्द्रनगर नगरपालिका भित्र अन्य विद्यालयहरूले समेत अनुमति बेगर कक्षा सञ्चालन गरिरहेका छन ।