|  

बस्तीमा पसेको पाटे बाघ नियन्त्रणमा 

१ भदौ, काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिका-७ बाटुलेमा बाघलाई नियन्त्रणमा लिएको छ ।

बाटुलेस्थित स्थानीय बासिन्दाको घरगोठमा पसेर गाईबस्तु र बाख्रा मारेर खान थालेपछि उक्त पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुन्ज, सेना र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । मंगलबार राति स्थानीय तुलसी कुमारी घर्तीको गोठमा बाँधेका दुईवटा गोरु मारेर खाएको र मान्छेलाई पनि दुःख दिएको भन्दै स्थानीयहरूबाट गुनासो आएपछि सुरक्षाकर्मीको टोलीले बुधबार बिहान घर्तीको घरदेखि करिब २ सय मिटर टाढा बाँसघारीबाट पाटे बाघलाई नियन्त्रणमा लिएको हो ।

यस क्रममा सुरक्षाकर्मीले डाट प्रयोग गरी बेहोस बनाएर बाघलाई नियन्त्रणमा लिएका थिए । उक्त पाटे बाघ अहिले बाँके राष्ट्रिय निकुन्जको रेस्क्यु सेन्टरमा पठाइएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुन्ज नजिकै पर्ने भएकाले निकुन्जबाट बस्तीमा पस्ने गरेका पाटे बाघले बेलाबेलामा स्थानीयले पालेका पसु चौपाया मारेर खाने मात्र नभई स्थानीयलाई समेत दुःख दिँदै आएपछि स्थानीयले प्रहरीकहाँ निवेदन दिने गरेका थिए ।