|  

मसँग २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाइयोःओली

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग भएको सम्पत्ति समेत दान गरेको दावी गर्दै आफ्नो २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाउन खोजेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख गर्दै सो पैसा जसले पत्ता लगाउँछ उसैलाई सबै दिने उल्लेख गरे ।

अबको चुनावमा केपी ओलीले २० अरब कि खरब खर्च गर्ने आरोप लगाएको उल्लेख गर्दै आफूले सम्पत्ति दान गरिसकेको बताए । अध्यक्ष ओलीले भने-‘२ खरब छ रे केपी ओलीसँग, २ खरब त हैन २० देखि ४० अरब छ केपी ओलीसँग । कहाँ छ भन्दा रिजर्भ बैंकमा छ । उसले भनेको । सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शत प्रतिशत म उसकै नाममा गरिदिन्छु ।

शतप्रतिशत । २० अरबको मालिक त एकैपटक हुन पाउने भयो नि । त्यै काम गरे भइहाल्यो नि, दुनियाँ लफडा किन गरिरहने, २० अरब त एक पटक मै पाउने भयो नी । केपी ओलीले कहाँ राखेको छ, कुन रिजर्भ बैंकमा राखेको छ ? मैले नै लेखेर दिएपछि त संसार भरका जुन बैंकमा पैसा छ जो जससँग सम्बन्धित छ मैले नै लेखेर दिन्छु । मेरो भएको सबै सम्पत्ति यसको उपचारका लागि दिनु भनेर ।’