|  

अमेरिकाले चीन र रुससँग युद्ध लड्नुपर्ने देखिन्छः पूर्वविदेशमन्त्री

१ भदाै, काठमाडाैं ।

अमेरिकी पूर्वविदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार ९९ वर्षीय हेनरी किसिन्जरले अमेरिकाले चीन र रुससँग युद्धको सम्मुखमा रहेको भन्दै युद्ध लड्नुपर्ने हुनसक्ने बताएका छन् । वाल स्ट्रिट जर्नललाई अन्तरवार्ता दिँदै किसिन्जरले यसले कस्तो परिस्थिति सिर्जना गर्छ भन्ने आफूहरूसँग ज्ञान नभएकोसमेत बताएका छन् । 

“केही हदसम्म हामी आफैँले पनि सिर्जना गरेका विषयहरूलाई लिएर हामी चीन र रुससँग युद्धको सम्मुखमा छौँ,” उनले भने, “तर, यस्तो युद्ध कसरी समाप्त हुनेछ वा यसले कस्तो परिस्थिति सिर्जना गर्नेछ भन्नेबारे हामीसँग कुनै ज्ञान छैन ।”

 

उनले अमेरिकाले तनाव चर्काउन नहुने र विकल्प दिनुपर्ने उनको सुझाव छ । किसिन्जरले अहिलेको भावनाप्रति विदेशनीति निकै उत्तरदायी रहेको पनि बताएका छन् । उनले रुसलाई उक्साउन अमेरिकाले पनि केही भूमिका रहेको भएपनि अमेरिकाले अब युक्रेनलाई औपचारिक रूपमा होस् या नहोस् नेटो सदस्यको रूपमा व्यवहार गर्नुपर्ने उनको भनाइ छ । 

उनले हालै अमेरिकी प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेकोबारे प्रत्यक्ष रूपमा आलोचना नगरिकन अमेरिकालाई चीनसँगको सम्बन्धको ढाँचामा परिवर्तन आउन लागेको देखिएकाले ताइवानी विषयमा निकै होसियारपूर्वक कदम चाल्न सल्लाह दिएका छन् । 

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको कार्यकालमा विदेश मन्त्री रहेका किसिन्जरलाई केहीले युद्ध अपराधीको संज्ञा पनि दिने गरेका छन् । उनलाई भियतनामी शान्ति वार्ता भाँडेको, क्याम्बोडियामा पनि युद्ध फैलाएको तथा अन्य विवादास्पद कदमहरू चालेको आरोप लाग्ने गरेको छ । 

मार्केट वाचबाट ।