|  

सन्दीप र किशोरी होटल गएको पुष्टि,सिसी क्यामेरा फुटेजमा के छ ? (भिडियोसहित)

२३ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ ।

प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ । तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ । उता होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रहरीलाई बयान दिएको छ । उनीहरु उक्त होटलमा करिब सात घन्टा बसेको खुलेको छ ।

भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११ः ५५ मा होटल पसेको देखिएको छ । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो । प्रमाणस्वरूप प्रहरीले काठमाडौ-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ ।सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ ।

किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन् । त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ । बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ । यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिए सिधै होस्टलबाहिर किशोरीलाई छाडेर सन्दीप फर्किएको देखिएको छ।