|  

अन्याय सहन सक्दैनन् नारी !

निशा कार्की

३० भदौ, काठमाडौं । पछिल्लो समय नेपाली समाजमा दुई किसिमका सोँचहरु छताछुल्ल भएर बाहिर आइरहेका छन् ।

एउटा सोँच, पितृसत्तात्मक सोँच, ‘पुरुष भनेको सर्वेसर्वा हुनुपर्दछ, पुरुषले जहिल्यै पनिआफुलाई सर्वश्रेष्ठ ठान्नुपर्दछ । अर्थात महिलाहरु प्रतिको सोँच नकारात्मक सोँच भएको पितृसत्तात्मक सोचको अवधारणा बाहिर आइरहेको छ ।

अर्कोतर्फ हेर्दा महिला अधिकार । ‘महिला अधिकार यस्तो अधिकार, हामीले जे-जे चाहन्छौँ त्यहि हुनुपर्दछ । पुरुष भनेको प्रायः सबै गरीकन कुदृष्टिबाट नै महिलाहरुलाई हेर्दछन् । पुरुषहरु ठिक छैनन्, पुरुषले हामीलाई दमन गर्नुका साथसाथै पिडित बनाए, थिचोमिचोमा राखे । अब महिलाहरु माथि उठ्नुपर्छ,जाग्नुपर्छ । यो दुई खालका सोँचअहिले बाहिर आएका छन् ।

नेपाल हिन्दू संस्कार भएको देश हो । त्यसकारण नारीलाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा अलि फरक छ । परापुर्वककालदेखि नै हामीले हिन्दू धर्म मान्दै आएकाले पनि नारी सधै सुन्दर, सुशिल र गुणपुर्ण हुनुपर्छ भन्ने हामी सवैको मान्यता रहेको छ । विभिन्न शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा समेत गरिएको छ ।

कुनै सुन्दर आवरणकी युवती देख्नासाथ पुरुषको मनमा बत्तीस लक्षणको कल्पना नाच्न थाल्छ । वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । भनिन्छ,एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । शास्त्रले भने अनुसार असल नारी भएको घर नै स्वर्ग समान हुने गर्छ ।असल नारी नै कुनै पनि घरको गहना हो । तर पुरुषको गुणको बारेमा भने खासै चर्चा भएको पाइदैन ।

महिलामा बत्तीस लक्षण खोज्ने पुरुषको पनि बत्तिस लक्षण हुनुपर्छ । शास्त्रमा उल्लेख नभए पनि पुरुषमा पनि यी लक्षण हुन आवश्यक छ । जस्तैः स्नेह, आत्मनिर्भर, नेतृत्व, बफादार, आत्मसम्मान, विश्वासिलो,विद्धान,विश्वासयोग्य, स्वीकार्यता, धैर्यता,नम्रता,दृढता, आत्म नियन्त्रण, बुद्धिमानी, समझदार , करुणाधारी, क्षमाशिल, आस्तिक स्वभाव, न्याय निसाफ गर्न सक्ने, सम्मान गर्ने, सन्तुष्ट स्वभाव,निस्वार्थता, ईश्वरीय गुण, निडर, सकारात्मक सोचाई ,स्वतन्त्रतामा रमाउने , परिश्रमी, दयालु, साँचो माया गर्ने, कोमल मन, शान्ति रुचाउने र साथ नछोड्ने हुनुपर्छ ।महिला पुरुष दुवैको ३२-३२ गुणले मात्र सुन्दर समाज बन्न सक्छ ।

हरेक मानिसमा ३२ गुण नहुनपनि सक्छ तर हामीले नराम्रो कर्मलाई त्याग गरि राम्रो कर्म गर्न थाले ३२ गुण भने आफैमा थप्न सक्छौं ।नारी सफल हुन पुरुषको साथ र सहयोग चाहिन्छ भने पुरूष सफल हुन पनि नारीकाे साथ चाहिन्छ । यसमा कुनै दुइ मत छैन ।

हाम्रो नेपाली समाजमा छोरी मान्छेलाई जन्मदै विभिन्न संस्कार र संस्कृतिबारे सिकाइन्छ । तर छोरालाई भने खासै संस्कारको बारेमा सिकाइने गरिदैँन । छोरी सधै विहान सबेरै उठ्नुपर्छ, घर भित्रका हरेक काम सिक्नुपर्छ भन्ने मान्यता छ । छोरी सहनशिल हुनुपर्छ, धेरै हास्ने र बोल्ने गर्नुहुँदैन भनिन्छ तर छोरामा भने यो कुरा लागु नगर्दा पनि हुन्छ भन्ने ठानिन्छ । अब छोरीले मान्नुपर्ने संस्कार छोराले पनि अगाल्न जरुरी छ । 

परम्परागत नारी
पहिला पहिला नारीको भूमिका घरेलू कामहरूसँग जोडिएको हुन्थ्यो । उनीहरु बालबच्चाहरूको हेरविचार गर्नेदेखि लिएर घरभित्रको काम समाल्ने गर्दथे । धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन । नारीहरु बाहिर काम गर्न जानुको मतलब त्यो घरलाई तल्लो वर्ग मानिन्थ्यो । उनीहरु खुलेर आफुलाई मन लागेको कुरा गर्न पाउँदैनथे । उनीहरुले आफूलाई मनपर्ने र सहजलाग्ने पहिरन समेत लगाउने अधिकार समाजले दिएको थिएन ।

उनीहरु आफुहरु पुरुषभन्दा सानो हौँ भन्ने मान्यतामा थिए । विवाहित महिलाले सँधै चुरा, पोते र सिन्दूरमा सजिएर हिँड्नै पर्ने बाध्यता थियो । लुगापनि पुरै शरीर ढाक्ने खाँलको लगाउनुपर्दथ्यो । सारी, चोलो, चुरा, पोते र सिन्दूर हिन्दु महिलाको पहिचान हो भन्ने कुरामा हरेक महिला सहमत थिए । त्यस्तै छोरीहरुले पढ्नु हुँदैन भन्ने भावना थियो । त्यो समयमा छोरीलाई घर बाहिर आफ्नो मर्जीले हिड्न निषेध नै थियो । त्यसको बाबजुत पनि धेरै महिलाहरुले नेपाललाई विश्वसामु चिनाउन सफल हुनुका साथै सधै अमर पनि बनेका छन्  ।

अरुणा लामा, छायादेवी पराजुली, तारा देवी , देवकुमारी थापा, द्वारिका देवी ठकुरानी, नायक देवी,पारिजात,पासाङ ल्हामु शेर्पा, भृकुटी, महारानी राजेन्द्र लक्ष्मी, योग माया कोइराला, राजल्ल देवीलगायतका महिलाहरुले नेपाललाई विश्वभर चिनाउन योगदान पु¥याएका छन् ।  यसबाट सांस्कृतिक पहिचानले व्यक्तिको पहिचान निर्माण गर्न बाधा गर्दैन । मात्र अवसरको खाँचो पर्छ भन्ने पुष्टि हुन्छ ।

आधुनिक नारी
मानिसको परिवर्तनशील सोचले पुराना मूल्य र मान्यताहरू भत्काउँदै नयाँ सोचको निमार्ण भइरहेको बेला नारीहरु पनि आधुनिक हुँदै गएका छन् । उनीहरुले आफ्नो धर्म, आफ्नो संस्कति, आफ्नो पहिरन मन पराउन छाडिसकेका छन् । हिजो चुलो चौकामा मात्र भुल्ने नारीहरु आज हिन्दु संस्कृतिका अमूल्य धरोहर सारी, चोलो, चुरा, पोते र सिन्दूरलाई निक्कमा ठान्न थालेका छन । उनीहरुले यी चीजहरू नै हुन, जसले हामीलाई अगाडि बढ्न नदिएको हो भन्ने मान्दछन् ।

अहिले विवाहित महिलाले सँधै चुरा, पोते र सिन्दूरमा सजिएर हिँड्नैपर्ने बाध्यता पनि देखिँदैन । अब नारीहरु सधै पुरुषको हेपाहामा बस्ने हैन भन्दै महिला अधिकारको खोजीमा दगुडिरहेका छन् । जसकारण, अहिले समाजले नारीहरुलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्दै लगेको छ । हरेक छोरीलाई शिक्षा दिनुपर्छ, छोरी सक्षम बन्नुपर्छ भन्ने भावना हरेक अभिभावकमा पनि आएको देखिन्छ ।

पछि पारिएका नारीहरु अहिले हरेक कुरामा अघि छन् । धेरै नारीहरुले त देशकै प्रमुख भुमिका पनि निर्वाह गरिरहेका छन् । आज महिलाहरूको चेतनाको दायरा पनि फराकिलो हुँदै गैरहेको छ। आम नेपाली महिलाहरू आज आफ्नो भविष्य आफैं बनाउन कस्सिइ रहेछन । उनीहरूलाई आर्थिक स्रोत र साधनमाथिको पहुँचको सपनादेखि लिएर शिक्षा, स्वास्थ्य, रोजगार र उद्यमको सपनाले पनि पिरोल्न थालेको छ। उनीहरु हरेक कुरामा आत्मनिर्भर हुँदै गएका छन् ।

यो राम्रो पक्ष हो । तर पहुँचमा पुगेका महिलाहरुले भने तल्लो तहका महिलाहरुलाई सँगै लिएर गएको देखिँदैन । अझैपनि नेपालका धेरै महिलाहरु घर बाहिर निस्किन सकेका छैनन् । कतिपय महिलाहरुलाई त महिलाअधिकारबारे पनि थाहा छैन । महिलाहरु अझै छाउगोठमा छन्, अशिक्षित छन्, बेरोजगार छन् । कतिपय नेतृत्वमा पुगेका महिलाहरुले यी समस्याको जालोबाट ती महिलाहरुलाई छुटाउनतर्फ नलागि समाजलाई भड्किलो बनाउन भने लागि परेको देखिन थालेको छ । परम्परागत कु-संस्कार त्याग्नु राम्रो हो तर आफ्नै संस्कार भने भुल्नु हुँदैन । संस्कृति आफैंमा एउटा पहिचान हो । कुनै पनि राष्ट्र, समाज, जाति वा व्यक्तिको पहिचान संस्कृतिले पनि निर्धारण गरेको हुन्छ । आधुनिकताका नाममा आफ्ना सांस्कृतिक पहिचानमाथि नै प्रहार हुनुलाई सकारात्मक संकेत भने  मान्न सकिँदैन । 

निष्कर्ष
विगतका नारी र हालका नारीहरुबीच आकाश-पातालको फरक रहेको छ । पहिलाका नारीहरु पिडित भएपनि समाजमा अपहेलित हुने डरले हिंसा सहेर बस्ने गर्दथे । केही घटना बाहिर आएपनि परिवार- परिवारबीच नै मेलमिलाप गर्ने गरिन्थ्यो । तर अहिलेका नारीहरु आफुमाथिको अन्याय अलिकति पनि सहन सक्दैनन् । पछिल्ला केहि चर्चित घटनाहरुले नेपाली महिलाहरु आफ्नो न्यायका लागि आफै बोल्न सक्छन भन्ने पनि देखिएको छ ।

यो महिलाहरुको लागि सकारात्मक पक्ष हो । उनीहरु अहिले न समाजको डर मान्छन्, न परिवारको । आफु स्वतन्त्रभएर हिड्न र डुल्न चाहन्छन् । स्वतन्त्रताको नाममा भने केहि नारीहरु अभद्र पनि भएका छन् । तर सवै नारीलाई एउटै तुलोमा राखेर जोख्न भने मिल्दैन । नारी स्वतन्त्र भएर हिड्नुलाई केही पक्षले छाडाको संज्ञा पनि दिएका छन् ।

म बलात्कृत भए भनेर भन्दा समेत नारीकै चरित्रमा प्रश्न उठाइन्छ । कुनै एउटा घटनालाई जोडेर हरेक घटनालाई तुलना गर्न पनि मिल्दैन । हामीले चर्चित ब्यक्ति र सेलिब्रेटीहरुले कुनै गल्ति नै गर्दैन भन्ने पनि सोच्नु हुँदैन । कुनैपनि मानिस अन्यायमा नपरी न्याय माग्न जाँदैन । सबैले कानुनको पालना गर्नैपर्छ । पुरूषले नारीलाई  र नारीले पुरूषलाई पिडित बनाउनेतर्फ भन्दा पनि समाजमा समान हैसियतले बाँच्न पाउने वातावरण बनाऔँ । नारी र पुरुषबीचको विभेद अन्त्य गरी समृद्ध र सुखी समाज निमार्ण गरौँ ।