|  

ओखलढुंगामा दश वर्षको अवधिमा आत्महत्या गर्नेको संख्या ४ सय 

२ असोज, काठमाडौं । पछिल्लो दश वर्षको अवधिमा जिल्लामा ४ सय जनाले आत्महत्या गरेका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखा र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आज (आइतबार) सदरमुकाममा आयोजना गरेको सचेतनामुलक कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनालले विश्वमा भएका आत्महत्याको अवस्थाको तथ्यांकिय विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत विवरण अनुशार पछिल्लो १० वर्षमा जिल्लामा ४ सय जनाले आत्महत्या गरेका हुन् ।जसमा सबैभन्दा बढी गत आर्थिक वर्ष २०७७ र ७८ मा ६१ जनाले आत्महत्या गरेका छन् । उमेर समूह अनुसार १७ वर्षसम्मका ६१ जना बालबालिका, १८ देखि ६० वर्षसम्मका २९५ र ६० वर्ष माथीका ५० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा बढी ३०४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

यस्तै ८८ जनाले विष सेवन, हतियार प्रयोग गरेर १ जना, आत्मदह (आफूले आफैलाई जलाएर) २ जना र नदी तथा भिरबाट हामफालेर ५ जनाले आत्महत्या गरेको पाईएको प्रहरीले जनाएको छ । आत्महत्या गरेकाहरुको परिवारका सदस्य तथा आफन्त र छिमेकीहरुसँग बुझ्दा धेरैजसोले नकारात्मक सोँच, गरिबी, बेरोजगारी, अत्याधिक मदिरा सेवन, मानसिक रोग, देखासिकी, पारिवारिक कलह, प्रेममा धोका, बृद्धबृद्धाहरुको हेरचाहमा कमी र परपुरुष तथा परस्त्रीसँ अनैतिक शारीरिक सम्बन्धलगायतका कारण रहेको पाइएको छ । आत्महत्याका कारण आर्थिक, सामाजिक मनोबैज्ञानिक, धार्मिक, जातिय तथा वर्गिय क्षेत्रमा समेत असर पर्ने गरेको उनको भनाइ छ ।