|  

भ्रमण खर्च नदिएको भन्दै विद्यार्थीद्धारा नगरपालिकाको कार्यालयमा तोडफोड

५ असोज, काठमाडौं ।  बारामा भ्रमण खर्च नदिएको भन्दै विद्यार्थीको समूहले सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । भ्रमण खर्च माग्न कार्यालय पुगेका विद्यार्थीको समूहले नगरपालिका तोडफोड गरेका हुन् ।

तोडफोडबाट नगरपालिकामा लाखौंको क्षति पुगेको छ । विद्यार्थीले कार्यालयको विभिन्न शाखामा रहेको कम्प्युटर, फर्निचर, झ्याल, ढोका, सिसा, गाडी, एसीलगायतका सामान तोडफोड गरेका छन् । कंकाली, खजानी, कचोर्वा माध्यमिक विद्यालयका विद्यार्थी नगर प्रमुख किशोरी साहलाई भेटन कार्यालय पुगेका थिए ।

प्रमुख साहले हाल डेंगुको प्रकोप रहेको र केही समयपछि भ्रमणमा जान अनुरोध गरेपछि विद्यार्थीले तोडफोड गर्न थालेको कार्यालयका कर्मचारीले बताएका छन् । नगर प्रमुख साहले डेंगुको प्रकोप कम भएपछि भ्रमण खर्च उपलब्ध गराउने बताएका थिए । तर तत्काल भ्रमण खर्च पाउनुपर्ने भन्दै विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् । 

कार्यालय तोडफोड भएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल घटनास्थल पुगेको थियो । प्रहरीले तोडफोडमा उत्रिएका विद्यार्थीलाई तितरवितर पार्न लाठीचार्ज गर्नुपरेको थियो । कार्यालयको अधिकांश शाखाका कम्प्युटर तोडफोड भएपछि सेवा समेत ठप्प भएको छ ।