|  

पहिलो पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा नेपाली सिनेमा एक साथ प्रदर्शन हुने 

६ असोज, काठमाडौं । पहिलोपटक अष्ट्रेलियाका दुई दर्जनभन्दा बढी हलमा नेपाली सिनेमा एक साथ प्रदर्शन हुने भएको छ ।

यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत-३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ । यसका लागि लामो समयदेखि प्रयासरत सिड्नी निवासी देव कार्कीले प्रेमगीत-३ मा आएर यो सफलता पाएको बताए ।

अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएका कार्कीका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत(३ ले पुरा अष्ट्रेलियामा दुई दर्जन भन्दा बढी हलहरू पाएको छ। यो साता प्रेम गीत ३ का लागि हलको संख्या बढ्ने उनले बताए।  नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रवासमा रहने हामीहरूले नै उठाउनुपर्ने उनको भनाइ छ । 

आगामी शुक्रबार अर्थात सेप्टेम्बर २३ तारिखमा विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत-३ त्यसै दिनदेखि अष्ट्रेलियाको इभेन्ट सिनेमा, लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा नियमित प्रदर्शनमा आउने भएको छ । प्रेम गीत -३ को ट्रेलर भने अष्ट्रेलियाका हलहरूमा बज्न थालिसकेको छ। नेपाली सिनेमाको राम्रो दर्शक र बजार भएको अष्ट्रेलियामा प्रेमगीत -३ ले इतिहास बनाउन लागेको छ।