६ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत-३’को हिन्दी भर्सन पनि नेपाली चलचित्र नै भएको बताएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बोलाएर गरेको छलफलमा मन्त्रालयले ‘प्रेम गीत–३’ हिन्दी भाषामा स्वरांकन गर्दैमा नेपाली चलचित्रलाई हिन्दी भन्न नमिल्ने बताएको हो । ‘नेपाली निर्माताले नेपालमा नेपाली भाषा, नेपाली कलाकार र नेपाली प्राविधिक लिएर बनाएको चलचित्र नेपाली नै हुन्छ,’ सञ्चार मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले भने, ‘प्रेम गीत-३ को हिन्दी स्वरांकन गरिएको चलचित्र पनि नेपाली नै हो ।
यसलाई हिन्दी भन्न मिल्दैन ।’पोखरेलले प्रेम गीत-३’को हिन्दी भर्सनले पनि नेपाली चलचित्र सरहनै सेवा सुविधा पाउने बताए । ‘के सुविधा कसरी पाउने हो त्यो मलाई सबै थाहा छैन । तर, नेपाली चलचित्रले जुन सुविधा पाउने हो त्यही नै यसले पनि पाउँछ,’उनले भने । अब यो चलचित्रले १५ प्रतिशत विकास शुल्क तिर्नु पर्ने छैन ।