|  

नेपालमा पेट्रोलबाट चल्ने गाडीको आयात रोक्न अध्ययन सुरु

६ असोज, काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्न अध्ययन थालेको छ ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ ।

बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गर्दैछौं, यसका लागि राजस्व सचिवको नेतृत्वमा गठन भएको समितिले खाका बनाउने छ ।’

त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उनले जानकारी दिए ।अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ ।