|  

यात्रु बाहक बस र हाइलेक्स गाडी ठोक्किँदा ३ जना घाइते 

६ असोज, काठमाडौं । झापाको बिर्तामोडमा यात्रु बाहक बस र हाइलेक्स गाडी ठोक्किँदा तीनजना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तरगत बिर्तामोड-६ स्थित बुट्टावारिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४७२ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बा २० च १७३८ नम्बरको हाइलेक्स गाडी ठोक्किँदा दुर्घटना भएको थियो ।हाइलेक्सको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा परी हाइलेक्स गाडी चालक कनकाई नगरपालिका-२ निवासी केशव चौधरी र सोही गाडीमा सवार बिर्तामोड- ५ निवासी योगेन्द्र भुर्तेल घाइते भएका छन् । त्यस्तै, बसमा सवार मोरङकी स्वस्तिका राई सामान्य घाइते भएकी जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता इलाका प्रहरी कार्यालय अनारमनिले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । दुर्घटना हुँदा केही समय सडक अवरुद्ध बनेको थियो ।