|  

काठमाडौं महानगरद्धारा टुकुचा खोला उत्खनन्का सन्दर्भमा उच्च अदालतले दिएको आदेश बुझ्न अस्वीकार 

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन्का सन्दर्भमा उच्च अदालत पाटनले गरेको अल्पकालीन अन्तरिम आदेश बुझ्न अस्वीकार गरेको छ ।

उच्च अदालत पाटनबाट रितपूर्वक म्याद जारी गर्न कर्मचारी खटे पनि काठमाडौं महानगरका कर्मचारीले म्याद बुझ्न अस्वीकार गरेका हुन् । ‘माथिको आदेश भन्दै कुनै पनि कर्मचारीले म्याद बुझ्न मान्नु भएन,’ रिट निवेदकमध्येका एक जनाले भने, ‘महानगरले म्याद तामेलीमा सहयोग गरिरहेको छैन ।’

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बुधवार म्याद तामेलीका लागि कर्मचारी पठाइएको लोकान्तरलाई बताए । महानगरले म्याद नबुझेपछि वडा कार्यालयमा म्याद तामेली गर्ने तयारी भइरहेको रिट निवेदक मध्येका एकले बताए ।काठमाडौं महानगरपालिकाको कार्यालयले टुकुचा खोला उत्खनन गर्ने नाममा स्थानीयका घर, पर्खाल, कम्पाउण्ड भत्काउन थालेपछि स्थानीय धमाधाम उच्च अदालत पाटनमा रिट लिएर गइरहेका छन् ।

‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कित्ता नम्बर ५४२ को २९०.२५ वर्ग मिटर क्षेत्रफलमा कानून बमोजिम २०६५ वैशाख ५ गते महानगरपालिकाको कार्यालयबाट नक्सा पास गराई घर निर्माण गरेको भन्दै उक्त घर जग्गालाई क्षति पुग्ने गरी कुनै कार्य नगर्नूरनगराउनू’ भन्ने आदेश माग गर्दै विश्व प्रकाश साखले उच्च अदालत पाटनमा रिट दिएका थिए ।