|  

रूकुमपूर्व बस दुर्घटनाका घाइतेको उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

६ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेहरूको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा आज भएको बस दुर्घटनामा ५ जनाको मृत्यु र १२ जना घाइते भएका छन्।गृहमन्त्री खाणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन्।काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ घाइते छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए । सुर्खेतबाट हेलिकप्टर लगेर घाइतेको उद्धार गर्ने तयारी छ। घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी छ ।

दुर्घटनामा परेर सिस्ने गाउँपालिका ६ की ४० वर्षीया लक्ष्मी खड्का, उनका २ वर्षीय छोरा सिजन खड्का, भूमे गाउँपालिका ५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथाउत्तर गंगा गाउँपालिका ८ का ३५ वर्षीय पूर्णबहादुर बुढा र बसका चालक रामेछापका २६ वर्षीय लीलाभक्त श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।गृहमन्त्री खाणले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीर्घ उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको र १७ जना घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ।