|  

भक्तपुरमा फलामको पाइपले लागेर १ जनाको मृत्यु, १ घाइते

६ असोज, काठमाडौं । भक्तपुरमा पाइपले लागेर एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका-८ जगाती पुल नजिक रहेको समानान्तर कंक्रिट उद्योगमा काम गर्ने क्रममा अन्दाजी तीन मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिई मर्मत गर्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो । घटनामा परी अर्का एकजना घाइते भएका छन् ।

 मृत्यु हुनेमा बर्दियाको बारबर्दिया नगरपालिका-७ घर भई हाल सोही उद्योगमा काम गर्ने २४ वर्षीय विवेक चौधरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । नागरिक अस्पताल भक्तपुरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अर्का पनि बर्दियाको बारबर्दिया नगरपालिका-७ घर भई हाल सोही  उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी रहेको जनाइएको छ । हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ। प्रहरी वृत्त जगातीका अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेका छन्।