|  

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा !

७ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने तयारीमा छन् ।

यसका लागि मिश्र र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पटकपटक संवाद भएको छ । पार्टीको बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले मिश्रलाई पार्टी प्रवेश गराउने निर्णय गरेको थियो ।शुक्रबार जनकपुर पुगेका लिङ्देनले संक्षिप्त संवादमा मिश्रलाई पार्टीमा स्वागत गर्ने अन्तिम तयारी भइरहेको बताए ।

उनकाअनुसार मिश्रलाई कुन पद दिएर पार्टी प्रवेश गराउने भन्ने टुंगो लागिसकेको छैन ।मिश्रलाई दोस्रो वरीयताको नेताको रूपमा भित्र्याउने चर्चा चलिरहेको छ । राप्रपाभित्र भने मिश्रलाई दोस्रो वरीयता दिन नहुने मत बलियो बन्दै गएको छ । पार्टीका उपाध्यक्षहरूले आफूहरूभन्दा तल्लो वरीयता दिएर पार्टीमा ल्याउन अध्यक्ष लिङ्देनलाई दबाब दिइरहेका छन् ।

एक उपाध्यक्षले मानार्थ उपाधि दिएर पार्टी भित्र्याइएका नेतालाई दोस्रो वरीयता दिन नसकिने बताए । आफूहरू ‘ग्राउन्ड लेबल’का कार्यकर्ताहरूबाट अनुमोदन भएकाले पनि जनमतको सम्मान गर्नुपर्ने ती नेता बताउँछन् ।