|  

साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ

१४ असोज, काठमाडौं । साझा यातायातको बाँकी रहेको ३७ वटा बिजुली बस पनि छिट्टै नेपाल आइपुग्ने भएको छ ।

ट्वीटरमा एक भिडिओ सार्वजनिक गर्दै बाँकी रहेको ३७ ओटा बिजुली बस नेपाल आउनको लागि चीनबाट हिडीँसकेको कम्पनीले जनाएको छ । कम्पनीले चीनको नान्जिङ स्थित कारखानामा निर्माणको लागि दिएको अर्डर मध्ये तीन ओटा बिजुली बस बैशाखमा नै काठमाडौं आइपुगेको थियो । हाल यो बस काठमाडौं भित्रका विभिन्न रुटमा सञ्चालनमा छन् ।

बाँकी ३७ ओटा बिजुली बस पनि कोदारी हुँदै नान्जिङदेखि काठमाडौं आइपुग्ने कम्पनीको भनाई छ । यी बसहरूको सञ्चालन व्यवस्थापनको विषयमा भने अहिले नै केही जानकारी आईसकेको छैन ।साझा यातायातले गत असोज २२ गते चीनको सीएचटिसी किनविङ (नान्जिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो ।

२६ सिट क्षमता भएका बस अपाङ्गमैत्री छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमिटर गुड्न सक्ने भनिएको छ ।