|  

केन्द्रीय बैंकको ढुकुटीबाट दशैंमा करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरियो

१७ असोज, काठमाडौं। यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ ।

राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ५६ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । यो गत वर्ष सोही अवधिमा वितरण गरिएको भन्दा केही बढी हो । 

गत वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट करिब ५० अर्ब रुपैयाँ नयाँ नोट बाहिरिएको थियो ।  राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ । यसरी दसैंको अवसरमा सटहीका लागि करिब १६ अर्ब र भुक्तानीका लागि ४० अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको देखिएको हो ।

गत शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबर नयाँ नोट बाहिरिएपछि वित्तीय प्रणालीमा रहेको चलनचल्तीको मुद्रा (क्यास इन सर्कुलेसन) बढेर ६ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको नेपालले जानकारी दिए । गत भदौ २६ सम्म चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब १० अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकले गत भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।