|  

चाडपर्व लक्षित सुपथ पसल झन्डै एक साता बन्द

१७ असोज, काठमाडौं । दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् ।

साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमासम्म विक्री वितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ ।

खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार हिजोसम्म झण्डै १५ सय खसीबोका काठमाण्डौ उपत्यका भित्रिएका र दुई सय सङ्ख्यामा बिक्री हुन बाँकी छ । त्यस्तै २ सय ११ वटा च्याङ्ग्रा ल्याएर बेचविखन गरिएको छ ।

बाँकी रहेका खसीबोका र च्याङ्ग्रा भोलिसम्म बेचिसक्ने उनले बताए । त्यस्तै चाडपर्वमा उपभोक्तालाई सहुलियत दिने उद्देश्यले गएको असोज १ गतेदेखि खाद्यवस्तुमा छुटसहित सुपथ पसल सञ्चालन गरिएको हो । यस्ता पसल कात्तिक १५ गतेसम्म चल्नेछन् ।