|  

प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ को टीजर सार्वजनिक

१७ असोज, काठमाडौं । भारतीय अभिनेता प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ को टीजर सार्वजनिक भएको छ ।

तानाजीः द अनसंग वारियर फिल्म बनाइसकेका निर्देशक ओम राउतले यो फिल्म बनाएका हुन् । रामायणमा आधारित यो फिल्ममा प्रभासले भगवान रामको भूमिका निर्वाह गरेका छन् । अयोध्यामा ‘आदिपुरुष’ को टीजरलाई ग्राण्ड शैलीमा रिलीज गरिएको छ । टीजर सार्वजनिकसंगै यसको चौतर्फी प्रशंसा हुन थालेको छ । टीजरमा अभिनेता प्रभासलाई रामको चरित्रमा देख्न सकिन्छ । उनी लंकाबाट धर्मपत्नी सीतालाई बचाउन अघि बढेका छन् । रामसंग लक्ष्मण तथा बाँदर सेना पनि छन् ।

अर्कोतिर अभिनेता सैफअली खान रावणको रुपमा देखा परेका छन् । सैफको हाँसो तथा डरलाग्दो लूकले उनको भूमिका पनि शसक्त छ भन्ने अनुमान गर्न सकिन्छ । टीजरमा सीताको चरित्रमा प्रस्तुत भएकी अभिनेत्री कृती सेनन निकै सुन्दर देखिएकी छिन् ।

यसका साथै टीजरमा केही उत्कृष्ट छायांकनका दृष्य तथा भिएफएक्स देख्न सकिन्छ । टीजरको प्रारम्भमा प्रभासलाई पानी भित्र बसेर ध्यान गरिरहेको देखाइएको छ । त्यसपछि सैफ अली खानलाई हिउँमा बसेको देखाइएको छ । ठूलो चमेरालाई आफ्नो वाहन बनाउँदै सैफ कति गैरहेको देखिन्छ । त्यसपछि उनले कुनै महिलालाई आफ्नो दस शिर देखाउँछन् ।

टीजरमा प्रभास र उनको सेनालाई राम सेतु पार गरिरहेको पनि देखिन्छ भने रावणको भयंकर रुपले दर्शक डराउन सक्छन् । टीजरको उत्कृष्ट भिएफएक्स तथ पौराणिक कथाको समिश्रण दर्शकलाई मन पर्नेछ ।

फिल्म आदिपुरुषमा रामायणको कथालाई चित्रण गरिएको छ । यसमा प्रभाससंगै कृती सेनन, सैफ अली खान तथा सनी सिंह निज्जरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । ओम राउतद्वारा निर्देशित यो फिल्मका निर्माता भूषण कुमार हुन् ।

यो फिल्मको बजेट ८ सय करोड रुपैयाँ भएको बताइन्छ । यदि यो तथ्यांक सही हो भने यो भारतमा बन्ने सबैभन्दा महंगो फिल्म हुनेछ । भनिन्छ, यसको भिजुअल इफेक्टमै चार सय करोड रुपैयाँ खर्च गरिएको छ ।

यो फिल्मको छायांकन हिन्दी तथा तेलुगू भाषामा संग–संगै गरिएको छ । यसको कथा ओम राउतले कोभिड–१९ को लकडाउनको क्रममा लेखेका थिए । यो कथा प्रभासलाई मन परेपछि उनले काम गर्ने निर्णय गरेका थिए । फिल्ममा सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन् भन कृती सेनन सीताको रुपमा छिन । सनी सिंहले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् ।

जनवरी १२, २०२३ मा प्रदर्शन हुने यो फिल्म हिन्दी तथा तेलुगूसंगै तमिल, मलयालम तथा कन्नड भाषामा पनि प्रदर्शन हुने बताइन्छ ।