|  

भलिबल संघको अनुमति विना राष्ट्रिय स्तरको प्रतियोगिता गर्न नपाइने

१७ असोज, काठमाडौं । राष्ट्रिय प्रतियोगिताको नाममा देशभर अनियन्त्रित भलिबल प्रतियोगिता आयोजनाको लहर चलेको पाइएको छ ।

त्यसैले भलिबल संघ (एनभीए)ले केही कडाइ गर्ने भएको छ ।संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नका लागि संघको अनुमति अनिवार्य चाहिने जनाएको छ ।

प्रतियोगिताको स्तरीयता कायम गर्न पनि संघले अनुमति लिनुपर्ने नियम लगाएको हो । अहिले चाडपर्वको बहानामा देशभर भलिबल प्रतियोगिता आयोजनाको लहर चलेको छ ।

खेलाडीको सुरक्षा र स्वस्थ प्रतिस्पर्धाका लागि पनि संघसँगको स्वीकृति र सहमतिमा प्रतियोगिताको मिति तय गर्न अनिवार्य गरिएको संघले उल्लेख गरेको छ । यस्तो सहमति लिन संघले सबै जिल्ला, प्रदेश, क्लब र सम्बन्धित संस्थाहरूलाई अनिवार्य गरेको हो ।

संघले कुनै जिल्ला, क्लब वा संस्थाले अनुमितिविना भलिबल संघको लोगो राखेमा वा नाम उल्लेख गरेमा कारबाही गर्ने र संघको कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी प्रतिबन्ध गरिने पनि जनाएको छ ।

संघले खेलाडीलाई मान्यता नदिएको प्रतियोगितामा भाग नलिन आग्रह समेत गरेको छ ।