|  

महिनावारीका कारण दशैँ बन्यो खल्लो !


निशा कार्की ।
१९ असार, काठमाडौं । नेपालीहरुको महान पर्व हो बडादशैँ । दशैँको मुख्य दिन दशमी अर्थात टिकाको दिनलाई मानिन्छ । टिकाको दिन नुवाइ धुवाइ गरी सफा भएर नयाँ पहिरनमा सजिएर मान्यजनको हातबाट टिका र जमरा नवदुर्गा भवानीको प्रसादस्वरुप ग्रहण गर्ने गरिन्छ ।

आजको दिन हरेक नेपालीहरु निधारमा रातो टिका र शिरमा पँहेला जमरा लगाएर रमाउने गर्दछन । तर मेरो भने ‘न शिरमा जमरा न निधारमा टिका’ । एक्लै निराश भएर अछुतोजस्तै भएर बस्नुपरेको छ । बर्ष दिनमा एक पटक आउने दशैँ हामी कतिपय छोरीहरुले महिनावारी भएकै कारण मनाउन पाउदैनौँ । महिनावारी नियमित प्रक्रिया हो, न यसलाई रोक्न मिल्ने न टाल्न ।

औषधी खाएर केही समय त रोक्न सकिन्छ तर पछि यसका कारण नकारात्मक असर पर्न सक्छ । यहि सोचेर महिनावारी हुने समय आउँदा पनि औषधी खाँइन । टिकाको विहानै महिनावारी भए । यस्तो लाग्यो, कोही आफन्त गुमाए जस्तो । दशैसुरु भएदेखि नै विभिन्न देवीको नाममा पशुपन्छीको बली दिन हुने तर महिनावारी हुँदा चाँही टिका लगाउनुनहुने । पाप लाग्छ रे ! सुन्दा नि अचम्म लाग्छ । घरका सवै सदस्य रातो टिका र जमरा लगाएर मान्यजनको हातबाट टिका थाप्न आफन्त कहाँ हिडे । म भने निराश भएर रुनु कि हाँस्नु परे, एक्लै कोठामा बसिरहे । दशैँमा रमाउने भनेर बुनेका सपना सबै तुहिए ।

अन्य सालको दशैँ भन्दा यो सालको दशैँ मेरो लागि स्पेशल थियो । विवाह गरेको पहिलो वर्ष । सासु ससुराको हातबाट टिका ग्रहण गरी माइती गएर हजुर आमा र बाबा ममीको हातबाट टिका थाप्छु । सँधै एक्लै टिका लगाउँथे तर यसपाली भने ज्वाई लिएर माइती गएर सँगै टिका लगाउन पाउने भँए भनेर मेरो मन त्यसै चङगा जस्तै उडेको थियो ।

त्यतिमात्र हैन, मामाघरको हजुरआमा समेत नयाँ नातीनी ज्वाइ र नातीनी आउँछन भनेर मक्ख पर्नुभएको थियो होला । वर्षदिनमा टिका लगाउन मामाघर जाने रहर बोकेर यसपाली ज्वाई कोशेली लिएर जाँदै तयारीमा थिए । तर यी सबै रहर रहरमै सिमित भए । टिकाको दिन घरको सबै काम सकेर छोरी ज्वाइ कति बेला आउने होलान भनेर साइत हेरेर बसेकी थिइन होला मेरी ममी । तर विहानै म आउन पाइन, ‘छूइ’ भए ममी भन्दै छोरीको फोन जाँदा नरमाइलो त लाग्यो होला नी !

महिनावारी हरेक महिलाले सामना गर्नुपर्ने प्राकृतिक विषय हो । महिलामा महिनावारी हुनुको अर्थ अब उनी सन्तान उत्पादन गर्नका लागि प्राकृतिक रूपमा सक्षम छिन भन्ने हो । तर हाम्रो समाजमा महिनावारी बार्ने चलन छ । हिन्दू धर्मप्रति आस्था राख्ने महिलाहरू महिनावारी (रजस्वला) बार्छन । पछिल्लो समय नयाँपुस्तामा यो कुरामा केही परिवर्तन आएको छ तैपनि अघिल्लो पुस्ताको डर र धकमा उनीहरू पूर्णतः स्वतन्त्र हुन सकिरहेका छैनन् ।

सबैको आ–आफ्नै सोच हुन्छ । धार्मिक हिसाबले हेर्दा यसको बेग्लै महत्व छ । रजस्वला भएकी स्त्रीले छोएको खानु पाप हो भन्नेहरू पनि छन् । जहाँसम्म मैले भोगेको तथा देखेको कुरा छ, मेरो परिवारबाट यो अवस्थामा तिमी स्वच्छ र स्वस्थ बस्नुपर्छ, रजस्वला हुँदा ४ दिन भान्सा देखि लिएर पुजा कोठा पस्नुहुँदैन भनेर सिकाइयो । तर महिनावारीलाई नै कारण बनाएर थालै बेग्लै, आमाबुवा वा दाजुभाइको कोठामा पस्नै नदिने, थालकचौरा नै छुट्याइदिने कुरा मलाई मनपर्दैन ।  मन नपर्नुको बाबजुत पनि मलाई रजस्वला सुरु भएदेखि नै सिकाइएको कुरालाई मैले नकार्न सकिन । जसकारण यसपाली दशैँमा मेरो निधार खाली रह्यो ।

हरेक महिना हुने महिनावारी वर्षमा १२ पटक आउँछ तर दशैँ भने वर्षमा एक पटक मात्र आउँछ । तर पनि महिनावारीका कारण दशै मनाइन पाइन । महिलाहरुले महिनावारी भएकै कारण अछुतोसरह बस्नुपर्ने अवस्था अन्त्य गर्नको लागि नवदुर्गाभवानीले शक्ति प्रदान गरुन । विजयादशमीको सवै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना !