|  

दैनिक करिब ८०० मेगावाट विद्युत खेर

१९ असोज, काठमाडौं । दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ ।

दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो ।

प्राधिकरणका अनुसार राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत खेर जाने अवस्था आएको हो ।

प्राधिकरणले सुरुमा ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । त्यसपछि ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानीआइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो ।

थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्राधिकरणको प्रस्ताव छ । तर, भारतीय पक्षले अहिलेसम्म सहमति दिएको छैन ।

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेलीबी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।