|  

मनसुनी गतिविधि सक्रिय,राप्ती नदीको तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

१९ असोज, काठमाडौं । बाँकेका विभिन्न क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँकेमा रहेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतह आज साँझ ६.४५ मिटर अर्थात खतराको तह भन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले पानीको सतह बढ्दो क्रममा रहेकाले राप्ती नदीको तल्लो तटीय क्षेत्रमा रहेका समुदायलाई भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहन समेत सुचित गरिएको छ । नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्ने जस्ता कार्य नगर्न पनि भनिएको छ । मनसुनी गतिविधि सक्रिय हुँदा देशभर पानी परिरहेको छ ।