|  

देशका धेरै ठाउँमा बर्षा, बाढी तथा पहिरोसहित आकस्मिक रुपमा विपदको जोखिम

२० असोज, काठमाडौं । नेपालमाअहिले दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जसका कारण देशमा हाल बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा हुँदा बाढी तथा पहिरोसहित आकश्मिक रुपमा विपदको जोखिम बढेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

यसैगरी राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।