|  

फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक

२० असोज, काठमाडौं । प्रदर्शनको पर्खाइमा रहेका फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ ।

पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रको सपना वरपर फिल्म घुमेको छ । पोस्टरमा गुडिरहेको ट्रकको पछाडि एक किशोरी कुदिरहेको देख्न सकिन्छ । राजेश हमाल बन्ने सपना पालेकी ती किशोरीको चाहना पोस्टरमा छ ।

निर्माता भुषालले हमालको जीवनमा फिल्म आधारित नरहेको बताए । जोन योञ्जन निर्देशित फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका छ । आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।