|  

चन्दा संकलन गरेर क्याम्पस स्थापना

२० असोज, काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका स्थानीयले चन्दा संकलन गरेर क्याम्पस स्थापना गरेका छन् ।

सरस्वती माद्यमिक विद्यालय खानी भञ्ज्याङमा क्याम्पस सञ्चालन गर्ने गरी स्थापना गरिएको हो । क्याम्पस स्थापनाका लागि तदर्थ समिति गठन गरेर १० लाख रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि अहिले क्याम्पसको उद्घाटन समेत गरिएको छ । क्याम्पसमा शिक्षा संकायतर्फ नेपाली, सामाजिक र अंग्रेजी विषयमा पढाई सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसै आर्थिक वर्षदेखि कक्षा सञ्चालनका लागि आवेदन समेत खुला गरिएको छ । क्याम्पस स्थापना भएसँगै टाढा-टाढा पुगेर अध्ययन गर्नुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुशी भएका छन् ।