|  

कांग्रेस उम्मेदवार छनोटमा व्यस्त

२० असोज, काठमाडौं । नेपाली कांग्रेस आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार छनोटको गृहकार्यमा जुटेको छ ।

सोमबारदेखि निरन्तर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनोटको प्रयासमा लागेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहिबार पनि बसेको छ । बिहिबारको बैठक पनि उम्मेदवार छनोटमा केन्द्रित रहेको बुझिएको छ । सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड तय गरेको थियो ।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता,लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ ।

कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । यहि असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले बिहिबार र शुक्रबार उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी रहेकाे छ ।

तर, सत्ता गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले कांग्रेस उम्मेदवार छनोटमा अलमलमा देखिएकाे छ।