१९ कात्तिक, काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रोतले जनाएको छ । शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन् । बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए । चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । त्यसमाथि मंगलबारदेखि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनका पक्षका वकिलहरुले बलात्कार आरोपभन्दा पनि पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस गरेका थिए ।
सन्दीपका वकिलहरुले पीडितले जन्ममिति सच्याएको र उनी नाबालिका नभएको जिकिर गरेका थिए ।तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने जिकिर गरेका थिए । लामिछाने स्वयम्ले बयानमा पीडित भनिएकी किशोरीसँग भक्तपुर घुम्न गएर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् ।लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।