|  

बुढानीलकण्ठ नगरद्वारा सघन शिक्षण सिकाइ अभियान सञ्चालन  

२ मंसिर, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले सघन शिक्षण सिकाइ अभियान सञ्चालन गरेको छ ।

विद्यार्थीको सिकाइ उपलब्धी अभिवृद्धि गरी आगामी विद्यालय स्तरको विभिन्न परीक्षामा नतिजा वृद्धि गर्नका लागि सघन शिक्षण सिकाइ अभियान सञ्चालन गरेको हो । मंसिर १ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालन हुने अभियानले विद्यालय स्तरका विभिन्न परीक्षा, अधारभूत तहको अन्तमा लिइने परीक्षा, एसईई र माध्यमिक शिक्षा उर्तीणा परीक्षामा विद्यार्थीको नतिजामा कम्तिमा १० प्रतिशतले वृद्धि गर्नका लागि नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरुमा सघन शिक्षण सिकाई अभियान सञ्चालन गरीएको जनाएको छ ।

उक्त अभियान सञ्चालनका लागि समय परीपालना र थप समय व्यवस्थापन गर्न निजी तथा सार्वजनिक विद्यालयलाई निर्देशन दिएको छ । उक्त अभियानका लागि नगरपालिकाले विद्यालयमा न्युनतम ६ घण्टा शिक्षण सिकाई सञ्चालन हुनुपर्ने, प्रधानाध्यापकले विद्यालयमा प्रत्येक दिन कम्तिमा ७ घण्टा शिक्षण सिकाई कार्यमा नेतृत्व प्रदान गर्नुपर्ने, शिक्षकले विद्यालयमा प्रत्येक दिन न्यूनतम ६ः३० घण्टा शिक्षण सिकाई कार्य सम्पादन गर्नुपर्ने निर्देशन दिएको छ ।

साथै प्रत्येक विद्यार्थी न्यूनतम ६ः१५ घण्टा विद्यालयको शिक्षण सिकाईमा संलग्न हुनुपर्ने, प्रत्येक शिक्षकले शिक्षण सुधार विकास र नवप्रवर्तन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, कक्षागत रुपमा विद्यार्थीको सिकाईको वर्तमान अवस्था र शैक्षिक सत्र २०७९ को लक्ष्य निर्धारण गरी सार्वजनिक गर्नुपर्ने, अभिभावक कम्तिमा पनि महिनामा एक पटक बालबालिकाको शिक्षण सिकाईको प्रगति सम्बन्धमा शिक्षकसँग अन्तरक्रिया गर्नु सम्पूर्ण विद्यालयहरुलाई निर्दशन दिएको जनाएको छ ।

त्यसैगरी शुन्य शिक्षक विद्यार्थी अनुपस्थिति अभियान सञ्चालन गरीएको नगर पालिकाले जनाएको छ । विद्यार्थीको पढाईको पृष्ठपोषणमा सुधार गर्नका लागि यो अभियान सञ्चालन गरीएको नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिए । उनले शुन्य शिक्षक विद्यार्थी अनुपस्थिति अभियान सञ्चालन गरीएको र बाध्यताबस विदा बस्नुपर्ने अवस्था आएको खण्डमा शिक्षक बैङ्कबाट शिक्षक विद्यालयमा उपलब्ध गराइने बताए ।