|  

आफ्नो नेतृत्वमा पहिलो शृंखला जित्दा धेरै खुशी लागेको छः रोहित 

२ मंसिर, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो नेतृत्वमा पहिलो शृंखला जित्दा धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन्।

निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा पक्राउ परेपछि रोहितले कप्तानको जिम्मेवारी पाएका हुन्। आफ्नो कप्तानीमा पहिलो शृंखलामै उनले नेपाललाई ऐतिहासिक जित दिलाए।‘पहिलो शृंखलामा जित हुँदा खेरी धेरै खुशी छु,’ रोहितले भने, ‘शृंखलाको सोचेजस्तो सुरुआत भएको थिएन।

तर, दोस्रो र तेस्रोमा राम्रो कमब्याक भयो।’अर्को महिना विश्पकप लिग डिभिजन-२ अन्तर्गत एकदिवसीय त्रिदेशीय शृंखलाको तयारी राम्रो भएको पनि रोहितले बताए।‘नामिबिया शृंखलाको लागि एकदमै राम्रो तयारी भयो। जुन हिसाबले हामीले ब्याटिङ गर्यौं, विशेष गरी आज टप अर्डरबाट ब्याटिङ भयो, त्यसले मध्य क्रम र पूरा टिममा पनि आत्मविश्वास बढेको छ,’ रोहित भन्छन्, ‘पहिलो खेलमा हामीले बलिङमा संघर्ष गर्नु परेको थियो।

त्यसपछि दोस्रो र तेस्रो खेलमा ललित (राजवंशी) दाइले एकदम राम्रो बलिङ गर्नुभयो। कुशल (भुर्तेल) दाईले पनि योगदान गर्नुभयो। दिपीदाई (दीपेन्द्रसिंह ऐरी)दाई पनि हुनुन्छ। तर, अझै पनि सुधार गर्ने ठाउँ चाहीँ छ।’