|  

ललितपुरमा ५५ वर्षीया महिलाले जन्माइन बच्चा !

६ मंसिर, काठमाडौं । ललितपुरमा  एक ५५ वर्षीया महिलाले आईभीएफ (टेस्ट ट्युब बेबी) विधिबाट सन्तान जन्माएकी छन् । ललितपुरकी विमला रजकले शनिबार स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।

विगत एक वर्षदेखि नर्भिक आईभीएफ सेन्टरमा उपचाररत उनको शल्यक्रियामार्फत शिशु निकालिएको हो । हाल शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरले जनाएको छ ।“३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रूपमा अर्को सन्तान आउँदा खुसीको सीमा छैन,” विमलाले भनिन् ।

नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पतीको पहिलो प्रयासमा नै आईभीएफ विधिबाट सन्तान भएको सेन्टरकी आईभीएफ विशेषज्ञ डा. नूतन शर्माले जानकारी दिइन् ।यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया एक महिलाले सोही विधिबाट जुम्ल्याहा सन्तान जन्माएकी थिइन् ।