|  

रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

८ मंसिर, काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड तथा पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

एभर्टनका समर्थकको हातबाट फोन खोसेको आरोपमा फुटबल एसोसिएनस (एफए) ले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो । यो प्रतिबन्ध इंग्ल्यान्ड वा त्यसभन्दा बाहिरको घरेलु लिगमा लागु हुनेछ । मंगलबार मात्रै युनाइटेडसँग आपसी समझदारीमा सम्झौता तोडेका उनी क्लबबिहीन छन् । अब उनी जुनसुकै क्लबमा गएपनि उनले सुरुवाती दुई खेल गुमाउनेछन् ।

यो प्रतिबन्ध च्याम्पियन्स लिग र युरोपा लिगमा लागु हुनेछैन । यस्तै यो प्रतिबन्ध विश्वकपमा पनि लागु हुने छैन । उनले बिहीबार घानासँगको समूह ‘एच’ खेलमा पोर्चुगलको कप्तानी गर्नेछन् ।

गत अप्रिलमा गुडिसन पार्कमा हार बेहोरेपछि ड्रेसिङ रुम छिर्दै गर्दा ३७ वर्षीया रोनाल्डोले फोनमा ठक्कर दिएको देखिएको थियो । एफएले उनलाई अनुचित र हिंसात्मक आचरणको लागि दोषी ठहर गरेको हो । उनलाई त्यतिबेला (अगस्ट) मै प्रहरीले सतर्क गराएको थियो ।

घटनापछि तुरुन्तै रोनाल्डोले युवा फ्यानसँग माफी मागेका थिए । एफएले रोनाल्डोले अनुचित आचरणको आरोप स्वीकार गरेको तर हिंसात्मक आचरण नभएको बताएको छ । यस्तै एक अन्तर्वार्तामा युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेका रोनाल्डोलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना समेत गरेको छ ।

ओल्ड ट्राफोर्डमा उनको दोस्रो स्पेलको अन्त्यमा एक विवादास्पद अन्तर्वार्ता पछि उनले युनाइटेडको आलोचना गर्दै प्रशिक्षक टेन ह्यागको लागि आफ्नो ‘कुनै सम्मान’ नरहेको बताएका थिए ।