|  

एमालेले भन्यो, 'तत्काल माओवादीसँग कुनै पनि सहकार्यको सम्भावना छैन'

८ मंसिर, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितेकोमा प्रचण्ड र शेरबहादुर देउवालाई बधाई दिन औपचारिक टेलिफोन गरेबाहेक कुनै छलछाम नरहेको जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सहकार्यको प्रस्ताव राखेको भनी एकपक्षीय ‘न्यारेटिभ’ स्थापित गर्न खोजिएको ओली निकट स्रोतले जनाएको छ । तत्काल माओवादीसँग कुनै पनि सहकार्यको सम्भावना नरहेको समेत एमालेको भनाइ छ ।

एमाले उपमहासचिव विष्णु रिमालले नेताहरूले चुनाव जितेपछि एक अर्कालाई बधाई दिएको विषयलाई कतिपयले आफू अनुकूल मिडियाबाजी गरेको हुनसक्ने बताए ।

रिमालले भने, "अध्यक्षज्यूले टेलिफोनबाट बधाई प्रचण्डजीलाई मात्र होइन शेरबहादुर देउवालाई पहिले नै दिनुभएको हो । देउवाजीलाई बधाई दिएको विषय मिडियाबाजी भएन । नेताहरूबिच बधाई साटासाट गर्ने कुरालाई राजनीतिकरण गर्नु जरुरी छैन ।"

उनले चुनावको परिणाम नै आइ नसकेकाले एमालेले कुनै पनि निर्णय नलिएको समेत प्रष्ट पारे ।