|  

गठनको पाँच महिनामै राष्ट्रिय पार्टी बन्दै रास्वपा

८ मंसिर, काठमाडौं। करिब पाँच महिना अगाडि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय पार्टीको हैसियत सुनिश्चित गरेको छ ।

जारी समानुपातिकतर्फको मतगणनामा यस पार्टीले तीन लाख मत कटाउँदै शानदार प्रदर्शन गरेको हो ।बसञ्चारकर्मी रवि लामिछानेले टेलिभिजनको जागिर छोडेर राजनीतिमा होमिँदै गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरेका थिए । छोटो समयमै व्यापक जनसमर्थन पाएको यस पार्टीले प्रत्यक्षमा हालसम्म सात सिट जितिसकेको छ । समानुपातिकतर्फ पार्टीको मत अझै उत्साहजनक छ ।

समानुपातिकतर्फ हालसम्मको मत परिणाममा रास्वपाले ३ लाख १४ हजार भन्दा बढी मत ल्याएको छ । अहिलेसम्म गणना भएको करिब २४ लाख मतलाई शतप्रतिशत मान्दा रास्वपाले ल्याएको मत मोटामोटी १५ प्रतिशत हो ।

निर्वाचन आयोगले आमनिर्वाचनमा १ करोड ९ लाख मत खसेको जनाएको छ । त्यसमा यदि सदर मत एक करोड भयो भने राष्ट्रिय पार्टी बन्न त्यसको ३ प्रतिशत अर्थात् ३ लाख मत ल्याउनुपर्ने हुन्छ । रास्वपाको मत तीन लाख कटिसकेकाले राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।