|  

प्रतिनिधिसभातर्फ हालसम्म ७ जना महिला निर्वाचित

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभातर्फ अहिलेसम्म ७ जना महिला निर्वाचित भएका छन् ।

१ सय ३२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ७ जना महिला उम्मेदवार निर्वाचित भएका हुन् । अब ३३ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ । एमालेबाट ३ जना, माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट एकजना निर्वाचित भएका हुन् । नेकपा एमालेबाट विद्या भट्टराई, जुलिकुमारी महतो र ज्वालाकुमारी साह निर्वाचित भएका छन् ।

भट्टराई कास्की-२ ,महतो धनुषा-३ र साह बारा-३ बाट निर्वाचित भएका हुन । यस्तै, माओवादी केन्द्रकी रेखा शर्मा दाङ २ बाट निर्वाचित भइन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की विजयी भइन । कैलाली-२ बाट रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भइन । निर्वाचितमध्ये भट्टराई यसअघि संसदीय चुनावमा निर्वाचित सांसद हुन ।

यसअघि पटक/पटक समानुपातिक सांसद भएकी रेखा शर्मा पहिलोपटक निर्वाचित भइन् । शर्मा सामान्य प्रशासनमन्त्रीको भूमिकामा पनि रहिन । जुलिकुमारी महतो यसअघि समानुपातिक सांसद हुन । महिला तथा बालबालिका मन्त्रालययको समेत जिम्मेवारीमा रहेर जुलिले काम गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता र तोसिमा, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरी पहिलोपटक संसदमा छिर्दैछन् ।