|  

भुकम्पले भत्काएका दाेलखाका १० सामुदायिक विद्यालय भवन अझै बन्न सकेनन्

१९ मंसिर, काठमाडाैं । २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन्।

भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन्। भारत सरकारको अनुदान सहयोगमा निर्माण सुरु गरिएका यी विद्यालय भवनहरू समयमै निर्माण सम्पन्न नहुँदा विद्यालयको पढाइमा प्रत्यक्ष असर परेको भीम माध्यमिक विद्यालयका प्रधानाध्यापक शेषनाथ आचार्यले गुनासो गरे । 

पढाइ मात्रै होइन, विद्यालय प्राङ्गणमा जथाभावी बालुवा, गिटीलगायतका निर्माण सामग्री थुपारिदिँदा खेल मैदान तथा अतिरिक्त क्रियाकलाप पनि प्रभावित भएका छन्। नेपाल सरकारले पटक/पटक म्याद थपे पनि भवन पुनर्निर्माण सम्पन्न हुन सकेका छैनन्। १० वटै विद्यालय भवन निर्माण गर्न ठेक्का पाएको श्यामसुन्दर प्रेरा जेभीले पछिल्लो छ महिनादेखि विद्यालय भवनहरू अलपत्र पारेर छोडेको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिमलगायतका कारणले गत असारसम्म म्याद थप भए पनि अझैसम्म निर्माण काम सुरु गरिएको छैन। 

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शङ्करबाबु श्रेष्ठका अनुसार भूकम्पका कारण क्षति भएका यहाँका ३६३ विद्यालय भवनमध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन्। ठेकेदार कम्पनीले निर्माण जिम्मा लिएका कालिनाग मावि सुनखानी, भीम मावि दोलखा, कालिढुङ्गा मावि मिर्गे, कालापानी मावि जफे, शान्ति आदर्श मावि लादुक, मोडाँडा मावि जुँगु, दुर्गा मावि शैलुङ, गुप्तेश्वर मावि, क्षत्रावती मावि र कालिञ्चोक माविको भवन निर्माण हालसम्म पनि निर्माण हुनसकेका छैनन् ।