|  

महाकालीमा एकतर्फी बाँध बनाएको विरोधमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

२० मंसिर, काठमाडौं । महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेको भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको हो । कुटनीतिक नोटमा नेपालको सहमति बिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख रहेको बताइएको छ ।

भारतीय पक्षले महाकाली नदीमा तटबन्धनका संरचना बनाउँदा दार्चुलाको खलङ्गा बजार जोखिममा परेको भन्दै खलङ्गावासीले विरोध गरेका छन् । स्थानीयवासीले तटबन्ध बनाएको विषयमा विरोध गर्दा गएको आइतवार दार्चुलाको सीमा क्षेत्रमा तनाव भएको थियो ।