|  

प्रहरीले माग्यो अमेरिकी दूतावासबाट लामिछानेको नागरिकता र पासपोर्टको विवरण !

२० मंसिर, काठमाडौं । प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गरेको छ ।

लामिछानेको नागरिकता विवादबारे अनुसन्धान थालेको प्रहरीले लामिछानेले लिएको अमेरिकी नागरिकता र राहदानीबारे जानकारी माग गरिएको बताइएको छ । लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि जिल्ला प्रहरी परिसरलाई पत्राचार गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले लामिछानेबारे अनुसन्धान सुरू गरेको हो।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो।