|  

निर्वाचनलगत्तै १५ अर्ब निक्षेप थपिएको बैंकर एसोसिएसनको तथ्यांक 

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि वाणिज्य बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थप भएको छ ।

निर्वाचनअघि दुई दिनमा ५ अर्ब ४७ करोड निक्षेप बाहिरिए पनि निर्वाचनलगत्तै रकम थपिएको नेपाल बैंकर एसोसिएसनको तथ्यांकले देखाएको छ । निर्वाचनपछि दुई सातामा नेपाली मुद्रामा १२ अर्ब ७४ करोड र विदेशी मुद्रामा १ अर्ब ८८ करोड निक्षेप जम्मा भएको छ । मंसिर १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप थपिँदै गए पनि कर्जा लगानी भने सुस्त देखिन्छ । चुनावयता हालसम्म ३ अर्ब २० करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । मंसिर यताको तथ्यांक हेर्ने हो भने यसबीच १ अर्ब १ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । हालसम्म बैंकहरूले ४२ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका छन । निक्षेप बढ्ने र कर्जामा सुस्तता आउँदा कर्जा निक्षेपको अनुपात (सिडी रेसियो)मा पनि क्रमशः सुधार आइरहेको छ । यसको अर्थ बैंकहरूको कर्जा दिने क्षमतामा वृद्धि भइरहेको छ । 

संघको तथ्यांकअनुसार मंसिर १६ गतेसम्म बैंकहरूको सिडी रेसियो ८६।७ प्रतिशत पुगेको छ । गत मंसिर ९ गतेसम्म कर्जा निक्षेपको अनुपात ८६।८६ प्रतिशत थियो । त्यसअघि गत मंसिर २ गतेसम्म कर्जा निक्षेपको अनुपात ८६।९१ प्रतिशत कायम भएको थियो । गत साउनदेखि कात्तिकसम्म आइपुग्दा कर्जा निक्षेपको अनुपातमा सुधार आइरहेको देखिन्छ ।

साउनमा यस्तो अनुपात औसतमा ८८।०७ प्रतिशत थियो । त्यसपछि भदौमा ८७।२१ प्रतिशतमा र्झयो । कर्जाको तुलनामा निक्षेपको हिस्सा बढ्दै जाँदा यस्तो अनुपात घट्ने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । असोजमा ८७।२ प्रतिशत पुगेको यो अनुपात कात्तिकसम्म आइपुग्दा ८७।१९ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकले ९० प्रतिशतभन्दा बढी पुग्न नदिन निर्देशन जारी गरेको अवस्था छ ।