|  

समानुपातिकतर्फको गणना लगभग सकियो

२१ मंसिर, काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको गणना लगभग सकिएको छ ।

निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेसम्ममा कुल १ करोड ५ लाख ६० हजार ८२ सदर मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन । २ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सकेन। हालसम्म नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ। उसले हालसम्म २८ लाख ४५ हजार ६४१ अर्थात कुल सदर मतको २६।९५ प्रतिशत मत पाएको छ ।

यस्तै प्रत्यक्षतर्फ पहिलो दल बनेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएर दोस्रो दल बनेको छ। उसले कुल सदर मतको २५.७१ प्रतिशत लोकप्रिय मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत लोकप्रिय मत पाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०।७० प्रतिशत मत पाएको छ ।

यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जसपाले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत पपुलर मत पाएको छ ।

२ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले २.८३ प्रतिशत पपुलर मत पाउँदै ३ प्रतिशतको थ्रेसहोल्ड थोरै मतले कटाउन सकेन । समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारणको तयारी गरेको छ ।

प्रतिनिधिसभामा समानुपातिकबाट १ सय १० जना सांसद निर्वाचित हुनेछन । आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट संख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ ।

मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्यांकसम्बन्धी विज्ञ सो कार्यमा संलग्न छन्। सो कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखत रूपमा प्राप्त विवरणलाई भिडाएर अलगअलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारै सबै परिणामको विवरण टुंगो लगाउन निर्देशन दिएका छन ।

आयोगबाट निर्णयलगत्तै सम्बन्धित दललाई पत्र पठाइनेछ । प्रतिनिधि सभातर्फ कुल सदर मतको तीन र प्रदेश सभातर्फ कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ ।

उक्त थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रति सांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत संख्या प्राप्त नगरेमा ती दलले समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन । आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ। सोका लागि दलहरूले प्रतिनिधि सभातर्फ सात दिन र प्रदेश सभातर्फ तीन दिन समय पाउनेछन । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ ।