|  

पेले र रोनाल्डोपछि विश्वकपको तीन संस्करणमा गोल गर्ने नेमार तेस्रो ब्राजिलियन खेलाडी

२१ मंसिर, काठमाडौं । २२ औँ विश्वकप फुटबल प्रतियोगितामा मंगलबार बिहान ब्राजिलले दक्षिण कोरियालाई प्रिक्वार्टरफाइनलमा ४-१ ले हराएको छ । 

जितसँगै पाँचपटकको विजेता ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब ब्राजिलले क्रोएसियासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । ब्राजिलको जितमा नेमारले पनि एक गोल गरेका थिए । उनले पहिलो हाफमै पेनाल्टी गोल गरेका हुन् । दक्षिण कोरियाविरुद्धको खेलमा ब्राजिलले थुपै्र रेकर्ड राख्न सफल भयो ।

सन १९५४ पछि ब्राजिलले विश्वकप इतिहासमा पहिलो हाफमै चार गोलको अग्रता लियो । सन २०१४ को विश्वकपछि नकआउट चरणमा मध्यान्तरअघि नै चार गोल गर्ने ब्राजिल पहिलो टोली बन्यो । दक्षिण कोरियाविरुद्ध गोल गरेका स्ट्राइकर नेमारले पनि आफ्नो नाममा रेकर्ड बनाएका छन । नेमार तीनवटा विश्वकपमा गोल गर्ने तेस्रो ब्राजिलियन खेलाडी बने । नेमारअघि ब्राजिलका लागि पेले र रोनाल्डोले तीनवटा विश्वकप संस्करणमा गोल गरेका थिए ।

नेमारले सन २०१४, २०१८ र २०२२ मा गोल गरेका छन् । सन २०१४ को विश्वकपमा नेमारले डेब्यु गरेका थिए । ब्राजिलमै आयोजना भएको विश्वकपमा नेमारले टोलीलाई सेमिफाइनलसम्म र्पुयाएका थिए । विश्वकप ट्रफी तीनपटक उचालेको कीर्तिमान बनाएका पेलेले चार संस्करणमा गोल गरेका थिए ।

उनले सन १९५८, १९६२, १९६६ र १९७० को विश्वकपमा गोल गरेका थिए । विश्वकपकै दोस्रो सर्वाधिक गोलकर्ता रोनाल्डोले सन् १९९८, २००२ र २००६ को विश्वकपमा गोल गरेका थिए । सन १९९४ को विश्वकपमा रोनाल्डो ब्राजिलियन टोलीमा थिए । तर, उनले विश्वकपमा एक खेल पनि खेल्न पाएनन ।

दक्षिण कोरियाविरुद्ध नेमारले व्यक्तिगत ७६औँ अन्तर्राष्ट्रिय गोल गरेका हुन् । नेमारले अब थप एक गोल गर्दा विश्वकपकै महान् खेलाडी पेलेको कीर्तिमान बराबरी गर्नेछन् । पेले राष्ट्रिय टोलीबाट सर्वाधिक ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । विश्वकपमा सर्बियाविरुद्धको खेलमा नेमार चोटग्रस्त बनेका थिए ।