|  

८ निर्माण व्यवसायीलाई स्पष्टीकरण बुझाउन सात दिने सूचना जारी

२१ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने भएको छ ।

३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ । उनीहरुको ठेगानामा लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा पनि हालसम्म स्पष्टीकरण पेश नगरेकाले सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

आज मंसिर २१ गतेदेखि सात दिनभित्र पनि लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरु कालो सूचीमा पर्नेछन । आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालो सूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा-११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा-६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे छन् ।

यसैगरी बानेश्वर-१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।