|  

कहिल्यै चार्ज नसकिने टिभीको रिमोट सार्वजनिक

१ माघ, काठमाडौं ।   गुगल टिभीको आफैं चार्ज हुने ब्याट्री सार्वजनिक भएको छ ।

अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शो CES २०२३ मा रिमोट कन्ट्रोलसँग सम्बन्धित कम्पनी टीडब्लू इलेक्ट्रोनिक्स लिमिटेडले गुगल टिभी रिमोट सार्वजनिक गरेको हो । गुगल टिभीका लागि पछिल्लो समय जुन डिजाइनको रिमोट प्रयोग भएको छ, नयाँ रिमोट पनि त्यही लेआउट र डिजाइनमा उपलब्ध छ ।तर, त्यसमा एउटा कुरा विशेष छ, जसले उक्त ब्याट्री आफैं चार्ज हुन सघाउँछ ।

उक्त गुगल टिभी रिमोटमा फोटोभोल्टिक प्यानल प्रयोग भएको छ । यसले कोठाभित्रकै प्रकाशबाट ब्याट्री रिचार्ज गर्न सक्छ ।यो प्रविधिले सोलर प्यानल जस्तै काम गर्ने कम्पनीले बताएको छ । यसअघि पनि सामसङले आफैं चार्ज हुने रिमोट ल्याइसकेको छ ।

तर, गुगल टिभीका लागि आफैं चार्ज हुने यो भने पहिलो रिमोट हो । कम्पनीले ट्वीटमार्फत उक्त रिमोटको जानकारी दिएको छ । तर, बजारमा उक्त रिमोट कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन ।