|  

पूर्वी हिमाली तथा पहाडी जिल्लामा जाडोले विद्यालयहरू बन्द

०३ माघ, काठमाडौं । पूर्वी हिमाली तथा पहाडी जिल्लामा जाडोले विद्यालयहरू बन्द गरिएका छन् । 

अत्यधिक चिसोमा बालबालिकालाई आउजाउ गर्न गाह्रो भएकाले हिमाली जिल्ला सोलखुम्बुका खुम्बुपासाङल्हामु गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाका ७० बढी सामुदायिक विद्यालयले पढाइ बन्द गरेका हुन् । सर्वोच्च शिखर सगरमाथास्थित हिमाली पालिका खुम्बुपासाङल्हामुले पुस दोस्रो साताबाटै लागू हुने गरी ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । ठण्डीले जनजीवन प्रभावित बनेको र विद्यालयसम्म जान सक्ने अवस्था नरहेकाले बन्द गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । उनका अनुसार कुल १७ विद्यालय रहेको पालिकामा वडा १ का ३ वटा बाहेक १४ वटा विद्यालय बन्द छन् ।

त्यस्तै हिमाली तथा उच्च पहाडी भूगोलमा रहेको सोलुदूधकुण्ड नगरपालिकाका ५८ वटा विद्यालय पनि बन्द छन् । कुल ६२ सामुदायिक विद्यालय रहेको जिल्लाको एक मात्र नगरपालिकामा वडा–११ तिंलाका ४ बाहेक अन्य विद्यालय ४५ दिनका लागि बन्द गरिएको शिक्षा शाखा प्रमुख सन्तोषकुमार राउतले बताए । उनका अनुसार अब माघको २५ पछि मात्रै नगरपालिकाका विद्यालय खुल्नेछन् । चिसोले ओखलढुंगाका अधिकांश विद्यालय बन्द छन् । मोलुङ गापा, खिजिदेम्बा गापा र सिद्धिचरण नगरपालिकाको लेकाली क्षेत्रका सबै विद्यालय केही दिनयता बन्द भएका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हिउँदे बिदा गरिएको छ । परीक्षा सकेर २१ माविसहित ९३ विद्यालय १५ दिनका लागि बिदा गरिएको उपप्रमुख विसन राईले बताए । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पुस १७ देखि १५ दिनको बिदा गरिएको छ । उक्त पालिकाको १४ माविसहित ४८ विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । खोटाङमा एक स्नातकोत्तर तहको पढाइ हुने दिक्तेल बहुमुखी क्याम्पसलगायत प्रायः सबै शैक्षिक संस्थाहरू बन्द छन् । यहाँ ४ सय ८६ वटा सामुदायिक, २८ संस्थागत विद्यालय र चार क्याम्पस छन् ।

पाँचथरमा जाडोले चार क्याम्पससहित सबै सामुदायिक र निजी विद्यालय बन्द छन् । विगतका वर्षमा हिउँदे छुट्टी नदिएका फिदिमका निजी विद्यालयले यो वर्ष पुस २९ देखि माघ ५ सम्म बिदा दिएका हुन् । विगतमा पुस २९ मा तेस्रो त्रैमासिक परीक्षा सकेर माघ १ देखि मात्रै बिदा दिने गरिएकोमा यस वर्ष चिसोकै कारण थप ५ दिन बिदा दिइएको उनको भनाइ छ । स्नातकोत्तर तहसम्म पढाइ हुने पाँचथर बहुमुखी क्याम्पससहित स्नातक तहसम्म पढाइ हुने थर्पु, यासोक र रवि क्याम्पस पनि बन्द भएका छन् ।

यस्तै पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने याङवरक र फालेलुङ गाउँपालिकाका सबै विद्यालय माघ १५ सम्मका लागि बिदा गरिएका छन् । ती पालिकाहरूले जाडो बढ्ने सिजनलाई मध्यनजर गरेर शैक्षिक क्यालेन्डरमा नै पुस १५ देखि १ महिनाको बिदा मिलाउने गरेका छन् । यहाँ सामुदायिक र निजीसहित उच्च शिक्षासम्म अध्ययन अध्यापन हुने विद्यालयको संख्या ४ सयभन्दा धेरै छ ।