|  

जनक शिक्षामा करोडौ घोटालाःअधिवक्ता न्यौपानेले अख्तियारको सातो खाए, रहस्य खोल्दैः पत्रकार रेग्मी र केसी

०५ माघ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागजमा करोडौँ भ्रष्टाचार गर्न खोजेको समाचार सार्वजनिक हुँदा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेको भन्दै पत्रकार तथा अधिकारकर्मीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

जनक शिक्षाको भ्रष्टाचारलाई बाहिर ल्याउन अहोरात्र खटिएका पत्रकारहरु कुशलव केसी, सन्जीव रेग्मी र अधिवक्ता यज्ञमणी न्यौपानेको टिमले घटना भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी समेत दिएका थिए । तर, उजुरी दिएको आठ दिन वितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेपछि उनीहरुले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । ड्यामेज भनिएका झण्डै १ लाख ५३ हजार केजी कागजका रोलहरुमा चरम भ्रष्टाचार गर्न खोजिएको उनीहरुको आरोप छ । 

गत पुष २७ गते करिव १ लाख ५३ हजार केजी कागज भएका १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने कार्य गरेको पाइएसँगै प्रहरीले १३ वटा कन्टेनर अहिले नियन्त्रणमा लिएको पनि उनीहरुको खुलासा छ ।

पत्रकारहरुसँग कुशलवले जनक शिक्षामा ठूलो घोटला हुँदैछ भन्ने गोप्य सूचना भित्रबाटै जानकारीमा आएको बताएका छन् । उनले जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागेपनि यसमा लाखौं बालबालिकाको भविष्य जोडिएकोले आफूहरुले उक्त विषय सार्वजनिक गरेको बताए ।

त्यसैगरी कार्यक्रममा सन्जीव रेग्मीले सरकारले अनुसन्धानमा आलटाल गरेर भ्रष्टाचारमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । आफूहरुको आशंका जनक शिक्षाका पदाधिकारीहरुमाथि रहेको र अख्तियारले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले अख्तियारलाई एक–अर्कालाई देखाउँदै अनुसन्धान गर्न आलटाल गरिरहेको उनको आरोप छ ।

त्यस्तै, अधिवक्ता यज्ञमणी न्यौपानेले आफूहरुले भ्रष्टाचारको सूचना दिएको आज आठ दिन भइसक्दा पनि राज्यले यसबारेमा कुनै चासो नदेखाएको गुनासो पोखे । उक्त विषयलाई यथास्थितिमा राख्न खोज्नुमा गम्भीर आशंका पैदा भएको उनको टिप्पणी छ ।

जनक शिक्षाका महाप्रवन्धक अनिल कुमार झा, खरिद प्रमुख र स्टोर प्रमुखलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन पनि उनले सरकारसमक्ष आग्रह गरेका छन् ।

भिडियाे पनि हेर्नुहाेसः