|  

अब यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने

८ माघ, काठमाडौं ।  यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्नेछ ।

कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १२ सम्मको लागि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीहरूले कक्षा ११ मा पुनः भर्नु नपर्ने बताए । ‘माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिस्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी यो वर्षदेखि लागू गर्दैछौं । त्यसका लागि तयारी थालेका छौं,’ उनले भने ।

माध्यमिक तहमा पटक पटक फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्दै यो वर्षदेखि एक पटक मात्र फाराम भने हुने बनाउन लागिएको उनको भनाई छ । जसले गर्दा यो वर्ष कक्षा ९ मा अहिलेसम्म रजिस्ट्रेसन फाराम खुलेको छैन ।‘हामी केही व्यवस्थापन गर्दैछौं । सबैलाई सहज हुने खालको व्यवस्था गर्न लागेकाले कक्षा ९ मा रजिस्ट्रेसन फाराम खुल्न ढिलाइ भएको हो । अब छिट्टै खुल्छ,’ उनले भने ।