|  

एमाले सांसद रघुवीरको प्रश्नः लक्ष्मी महतो जस्तो चर्चित मान्छे कसरी हत्यारा हुन्छ ?

१० माघ, काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले सांसद लक्ष्मी महतो (कोइरी) कसरी हत्यारा हुन सक्छन् भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा गरेजस्तै महोत्तरीमा कोइरीको त्यसरी नै घरघरमा प्रत्येक दिन पूजा हुने गरेको बताए । ‘लक्ष्मीपूजाको दिनमा घरघरमा लक्ष्मीको पूजा गरेजस्तै महोत्तरीमा उहाँको त्यसरी नै घरघरमा प्रत्येक दिन पूजा हुन्छ । शोषित–पीडित जनताले पूजा गर्छन् । यस्तो चर्चित मान्छे कसरी हत्यारा हुन्छ ?’, महासेठको प्रश्न छ ।

महासेठले कोइरी लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनको क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने बताए । ‘अहिले देशमा लक्ष्मी महतो कोइरीको चर्चा छ । यही प्रतिनिधिसभामा सांसदहरूले धेरै कुरा उठाउनुभयो । अपराधी भन्ने शब्द पनि प्रयोग भयो । प्रहरीले किन पक्रेन भनेर उठाउने काम भयो,’ उनले भने, ‘साँच्चै महतो अपराधी हुन् त ?यदि, अपराधी हो भने निर्वाचनमा सरकारले सम्मानित र प्रतिष्ठित पदक, समाजसेवी पदकबाट सरकारले सिफारिस गरेर दिने काम उहाँले किन गर्नुभयो ?

त्यो बेला अपराधी हेर्नु भएन ?’ महासेठले लक्ष्मी महतोलाई अपराधीकै रुपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन अनुरोधसमेत गरे । महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न तर पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह गरेका छन् ।