|  

रविको नागरिकताविरुद्ध परेको रिटमा आजबाट अन्तिम सुनुवाइ हुँदै 

११ माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताविरुद्ध परेको रिटमा आजबाट अन्तिम सुनुवाइ हुँदै छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानविरुद्धको रिटमा सुनुवाइ हुनेछ ।
लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको  रिट जिकिर निवेदकको छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ । लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज भने नभएको तर्क गर्दै आएका छन् । 

उनका कानुन व्यवसायीहरूले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको दाबी गरेका छन् । सोही दाबी अनुसार लामिछानको नेपाली नागरिकता कायम नरहेको अवस्थामा अमेरिकाको नागरिकता त्याग गर्नासाथ नेपाली नागरिकता आफैं सक्रिय हुने दाबी गरेका छन् ।